काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय ले विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि प्राप्त आवेदन संख्या सार्वजनिक गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपकुलपति नियुक्तिका लागि कूल २१८ आवेदन परेको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालय मा परेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ५० जनाले आवेदन दिएका छन्। त्यसपछि पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय मा समान ३८/३८ आवेदन परेको छ।
त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालय मा १९, मध्यपश्चिम विश्वविद्यालय मा २०, लुम्बिनी बौद्ध विश्वविद्यालय मा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय मा १५ तथा राजर्षि जनक विश्वविद्यालय मा २७ आवेदन परेको मन्त्रालयले जनाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालय ले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार खुला आवेदन आह्वान गरेको थियो। मन्त्रालयको सूचना अनुसार आवेदन अनलाइनमार्फत संकलन गरिएको हो।
विश्वविद्यालय नेतृत्व चयनमा देखिएको उच्च आवेदन संख्याले शैक्षिक क्षेत्रका प्राध्यापक, प्रशासक तथा विज्ञहरूको रुचि बढ्दो रहेको संकेत गरेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।

