पोखरा । शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ। पोखराको न्युरोडमा सञ्चालनमा आएको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड एम्बेस्डर क्रिकेटर सन्दीप लामिछानेले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेलले ब्रिज इन्टरनेशनलले पर्यटकीय राजधानी पोखरामा शाखा विस्तार गर्नु खुशीको विषय भएको बताए। उनले वैदेशिक अध्ययनका लागि ब्रिज इन्टरनेशनल रोज्ने विद्यार्थीलाई अब पोखरामै सेवा लिन सहज हुने धारणा राखे। साथै, इक्यानसँग आबद्ध भएर सहकार्य गर्दै अघि बढ्न पनि उनले संस्थालाई आग्रह गरे।
कार्यक्रममा ग्लोबल बिजनेसका डाइरेक्टर एन्ड्रिउ हप्किन्सले ब्रिज इन्टरनेशनल वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि परिवारजस्तै बनेको बताए। उनले विद्यार्थीलाई परामर्शदेखि गन्तव्य मुलुकसम्मको यात्रामा विश्वासिलो सहयात्रीका रूपमा ब्रिजले भूमिका खेल्दै आएको उल्लेख गरे।
ब्रिज इन्टरनेशनलका ब्राण्ड एम्बेस्डर क्रिकेटर सन्दीप लामिछानेले आफूले क्रिकेट मैदानबाट विकेट लिँदै जाने र ब्रिजले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न निरन्तर काम गर्दै जानुपर्ने बताए। उनले आफूहरूले देशलाई काँधमा बोकेर हिँड्ने भन्दै विद्यार्थी तथा शैक्षिक परामर्शदाताहरूले पनि देशलाई साथमा लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले सन् २०१५ देखि सुरु भएको ब्रिज इन्टरनेशनल आज २१ औं शाखासहित पोखरामा उपस्थित हुन पाउँदा खुशी लागेको बताए। उनले पोखरा तथा आसपासका विद्यार्थीलाई वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अब कम हुने विश्वास व्यक्त गरे। गिरीका अनुसार ब्रिज इन्टरनेशनलले विद्यार्थीलाई भिसा प्रक्रियामा मात्र सीमित नराखी सबै प्रमुख गन्तव्य मुलुकमा पुगेर आफ्टर भिसा सर्भिससमेत प्रदान गर्दै आएको छ।
ब्रिज इन्टरनेशनल ग्रुपका एडभाइजरी बोर्ड सदस्य खड्ग गुरुङले शिक्षाका लागि मात्र नभई पर्यटन प्रवर्द्धनका लागि समेत ब्रिजलाई पोखरासम्म ल्याइएको बताए। उनले ब्रिजका बेलायतस्थित प्रतिनिधिहरूलाई पनि पोखरामा ल्याउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा पोखरा र आसपासका विद्यार्थीलाई थप सहज हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराई, ब्रिज इन्टरनेशनलका चियरपर्सन महेश गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
ब्रिज इन्टरनेशनलले काठमाडौंसहित देशका विभिन्न शहरमा शाखा विस्तार गर्दै वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श, भिसा तयारी, गन्तव्य छनोट र अध्ययनपछिका आवश्यक सेवाहरू उपलब्ध गराउँदै आएको छ।