
एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरू नयाँ शैक्षिक यात्राको महत्वपूर्ण मोडमा उभिन्छन्। कुन विषय पढ्ने, कुन प्लस टु रोज्ने, कस्तो वातावरणमा अध्ययन गर्ने र भविष्यको बाटो कसरी तय गर्ने भन्ने निर्णय विद्यार्थीका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। यही सन्दर्भमा नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानसँग कक्षा ११ भर्ना, विषय छनोट, विद्यार्थीको तयारी र नाइटिङ्गेलको शैक्षिक वातावरणबारे एजुकेसन दैनिकले गरेको कुराकानी :
एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई तपाईं के भन्न चाहनुहुन्छ ?
भर्खरै एसईई उत्तीर्ण भएर आउनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। यो तपाईंहरूको जीवनको नयाँ शैक्षिक यात्राको सुरुवात हो। एसईईपछि कक्षा ११ मा प्रवेश गर्नु केवल अर्को कक्षामा भर्ना हुनु मात्र होइन, आफ्नो भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण चरण हो। यस समयमा विद्यार्थीहरू स्वाभाविक रूपमा केही अन्योलमा हुन्छन्। कहाँ पढ्ने, कुन विषय रोज्ने, कस्तो कलेज छनोट गर्ने भन्ने विषयमा उनीहरूलाई स्पष्टता नहुन सक्छ। त्यसैले हतार गरेर वा साथीहरूको पछि लागेर निर्णय गर्नु हुँदैन। अभिभावक, शिक्षक र अनुभवी व्यक्तिहरूसँग सल्लाह गरेर सोचविचारका साथ सही निर्णय गर्नुपर्छ।
प्लस टु छनोट गर्दा विद्यार्थीले मुख्य रूपमा के कुरामा ध्यान दिनुपर्छ?
प्लस टु छनोट गर्दा सबैभन्दा पहिले प्लस टु कलेजको शैक्षिक वातावरण, भौतिक पूर्वाधार, शिक्षकको गुणस्तर, अनुशासन, नतिजा, विद्यार्थीको हेरचाह र चौतर्फी विकासका अवसरहरू हेर्नुपर्छ। कलेज कस्तो छ, त्यहाँ विद्यार्थीलाई पढाइसँगै व्यक्तित्व विकास, आत्मविश्वास, नेतृत्व, खेलकुद, कला, संगीत र अन्य अतिरिक्त क्रियाकलापका अवसर छन् कि छैनन् भन्ने कुरा पनि विचार गर्नुपर्छ। प्लस टु भनेको दुई वर्षको अध्ययन मात्र होइन। यही दुई वर्षले विद्यार्थीको भविष्यको आधार तयार गर्छ। प्लस टुको अध्ययन, नतिजा र अनुभवले विद्यार्थीलाई पछि स्नातक तहमा कुन क्षेत्रमा जाने भन्ने निर्णय गर्न सहयोग गर्छ। त्यसैले प्लस टु छनोट विद्यार्थीका लागि चुनौती पनि हो र अवसर पनि हो। सही प्लस टु छनोट गर्दा विद्यार्थीले नआत्तिकन, अभिभावक र शिक्षकसँग सल्लाह गरेर, बुझेर र आफ्नो भविष्यको लक्ष्यलाई ध्यानमा राखेर निर्णय गर्नुपर्छ।
“प्लस टु भनेको दुई वर्षको अध्ययन मात्र होइन, यही दुई वर्षले विद्यार्थीको भविष्यको आधार तयार गर्छ।”
विषय छनोट गर्दा विद्यार्थी र अभिभावकले के बुझ्नुपर्छ?
विषय छनोट गर्दा विद्यार्थीको रुचि, क्षमता र भविष्यको लक्ष्यलाई प्राथमिकता दिनुपर्छ। केवल नतिजा हेरेर विषय रोज्नु सही हुँदैन। कहिलेकाहीँ ए प्लस आयो भने साइन्स नै पढ्नुपर्छ भन्ने सोच देखिन्छ। तर ए प्लस आएको विद्यार्थीलाई यदि म्यानेजमेन्टमा रुचि छ भने उसले म्यानेजमेन्ट पढ्न सक्छ। त्यस्तै, कुनै विद्यार्थीको एसईईमा बी ग्रेड आएको छ तर उसलाई साइन्स पढ्ने इच्छा, मेहनत गर्ने क्षमता र भविष्यको लक्ष्य त्यही क्षेत्रमा छ भने उसले साइन्स पढ्न सक्छ। त्यसैले विद्यार्थीलाई दबाब दिएर विषय छनोट गराउनु हुँदैन। अभिभावकले आफ्नो इच्छा मात्रै थोपर्नुभन्दा विद्यार्थीको रुचि, क्षमता र भविष्यको उद्देश्य बुझ्नुपर्छ। विषय छनोट विद्यार्थीको मन, लक्ष्य र क्षमतासँग जोडिएको हुनुपर्छ।

नाइटिङ्गेल प्लस टु किन रोज्ने?
नाइटिङ्गेल प्लस टुमा हामी नतिजालाई धेरै महत्व दिन्छौँ। हामी रिजल्ट ओरियन्टेड छौँ। विगतका वर्षहरूमा ४ जिपिए ल्याएका विद्यार्थीहरूले पनि नाइटिङ्गेलमा भर्ना गरेका छन् र यस वर्ष पनि त्यस्ता विद्यार्थीहरू भर्ना भइरहेका छन्। तर हाम्रो ध्यान केवल राम्रो नतिजामा मात्र सीमित छैन। नाइटिङ्गेल प्लस टु विद्यार्थीको चौतर्फी विकासमा पनि विशेष ध्यान दिन्छ। विद्यार्थीलाई पढाइमा राम्रो बनाउने, अनुशासित बनाउने, आत्मविश्वासी बनाउने, संस्कारी बनाउने र भविष्यका लागि तयार पार्ने हाम्रो उद्देश्य हो। नाइटिङ्गेलमा विद्यार्थीलाई पारिवारिक वातावरण दिइन्छ। यहाँ पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका छन् र उनीहरूले नाइटिङ्गेलमा पढेको अनुभवप्रति खुशी व्यक्त गर्ने गरेका छन्। उनीहरू नाइटिङ्गेलको परिचित, सहयोगी र पारिवारिक वातावरणका लागि कृतज्ञ रहेको हामीले पाएका छौँ।

पढाइमा कमजोर विद्यार्थीका लागि नाइटिङ्गेलले कसरी सहयोग गर्छ?
हाम्रोमा पढाइमा कमजोर विद्यार्थीहरूलाई पनि विशेष ध्यान दिइन्छ। सबै विद्यार्थी एउटै स्तरका हुँदैनन्। कसैलाई बढी मार्गदर्शन चाहिन्छ, कसैलाई नियमित अभ्यास चाहिन्छ, कसैलाई आत्मविश्वास बढाउन सहयोग चाहिन्छ। त्यसैले हामी विद्यार्थीलाई उसको आवश्यकताअनुसार सहयोग गर्ने प्रयास गर्छौँ। हामी विभिन्न आन्तरिक परीक्षा, अभ्यास, मूल्याङ्कन र तयारीमार्फत विद्यार्थीलाई बोर्ड परीक्षा दिन सक्षम बनाउँछौँ। यसले उनीहरूलाई पछि बोर्ड परीक्षा दिँदा सहज बनाउँछ। नियमित परीक्षा र अभ्यासले विद्यार्थीलाई आफ्नो कमजोरी थाहा पाउन, सुधार गर्न र आत्मविश्वास बढाउन सहयोग गर्छ। हामी चाहन्छौँ कि प्रत्येक विद्यार्थीले आफ्नो क्षमताअनुसार राम्रो नतिजा ल्याओस् र भविष्यको यात्राका लागि बलियो आधार तयार गरोस्।
“हामी विद्यार्थीलाई राम्रो नतिजाका लागि मात्र होइन, असल, संस्कारी र जिम्मेवार नागरिक बनाउन चाहन्छौँ।”
नाइटिङ्गेलमा छात्रवृत्तिको व्यवस्था छ?
हो, हामीले छात्रवृत्तिका कोटाहरू पनि छुट्याएका छौँ। मेधावी, मेहनती र योग्य विद्यार्थीहरूलाई प्रोत्साहन गर्न छात्रवृत्ति महत्वपूर्ण हुन्छ। राम्रो नतिजा ल्याएका विद्यार्थीहरूका लागि मात्र होइन, लगनशील र भविष्यका लागि गम्भीर विद्यार्थीहरूलाई पनि उचित अवसर दिनुपर्छ भन्ने हाम्रो सोच छ। नाइटिङ्गेलले विद्यार्थीको क्षमता, नतिजा र सम्भावनालाई ध्यानमा राखेर छात्रवृत्तिका अवसरहरू प्रदान गर्छ।

प्लस टुपछि हुने प्रवेश परीक्षाका लागि विद्यार्थीलाई कसरी तयार पारिन्छ?
हामी विद्यार्थीलाई कक्षा ११ र १२ पढ्दादेखि नै प्लस टुपछि आवश्यक पर्ने प्रवेश परीक्षाका लागि तयारी गराउने कुरामा पनि ध्यान दिन्छौँ। विशेषगरी मेडिकल, इन्जिनियरिङलगायतका क्षेत्रका लागि प्रवेश परीक्षा दिने विद्यार्थीहरूलाई आधारभूत तयारी, मार्गदर्शन र आवश्यक कक्षा उपलब्ध गराउने प्रयास हुन्छ। कक्षा ११ र १२ को पढाइसँगै भविष्यको उच्च शिक्षाको तयारी पनि आवश्यक हुन्छ। विद्यार्थीले प्लस टु सकेपछि मात्र तयारी सुरु गर्दा ढिलो हुन सक्छ। त्यसैले सुरुदेखि नै विषयको गहिराइ बुझ्ने, अवधारणामा स्पष्ट हुने र लक्ष्यअनुसार तयारी गर्ने वातावरण आवश्यक हुन्छ। नाइटिङ्गेलले यस पक्षलाई पनि महत्व दिएको छ।
विद्यार्थीलाई करियर तथा विषय छनोटमा काउन्सेलिङको व्यवस्था छ?
हो, हामीले विद्यार्थीहरूका लागि प्रि–काउन्सेलिङको व्यवस्था पनि गरेका छौँ। विद्यार्थीले कुन विषय पढ्ने, भविष्यमा कुन क्षेत्रमा जाने, कुन कोर्स उसको रुचि र क्षमतासँग मिल्छ भन्ने कुरा बुझ्न काउन्सेलिङ आवश्यक हुन्छ। हामी विभिन्न क्षेत्रका शिक्षाविद्, विज्ञ र अनुभवी व्यक्तिहरूलाई ल्याएर विद्यार्थीलाई परामर्श गराउँछौँ। यसले विद्यार्थीलाई प्लस टुपछि कुन कोर्स छनोट गर्ने, कुन क्षेत्रमा अवसर छ, आफू कुन दिशामा जान सक्छु भन्ने विषयमा स्पष्टता दिन सहयोग गर्छ। विद्यार्थीले आफ्नो भविष्यबारे सही जानकारी पायो भने निर्णय पनि राम्रो हुन्छ।
“विषय छनोट विद्यार्थीको मन, लक्ष्य र क्षमतासँग जोडिएको हुनुपर्छ।”
विद्यार्थीको चौतर्फी विकासका लागि नाइटिङ्गेलमा के–कस्ता गतिविधि हुन्छन्?
विद्यार्थीको चौतर्फी विकासका लागि नाइटिङ्गेलमा विभिन्न गतिविधिहरू सञ्चालन हुन्छन्। पढाइसँगै फुटबल, बास्केटबल, क्रिकेट, नृत्य, संगीतलगायतका अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी गराइन्छ। यो उमेरका विद्यार्थीलाई पढाइ मात्र होइन, आत्मविश्वास, नेतृत्व, अनुशासन, समूहमा काम गर्ने क्षमता, प्रस्तुति गर्ने क्षमता र सिर्जनशीलता पनि आवश्यक हुन्छ। त्यसैले हामी विद्यार्थीलाई कक्षाकोठाभित्र मात्र सीमित राख्दैनौँ। विद्यार्थीले पढाइसँगै आफ्नो रुचि र प्रतिभा देखाउने अवसर पाउनुपर्छ। यस्ता गतिविधिले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो सहयोग गर्छ।

नाइटिङ्गेलको वातावरणबारे विद्यार्थीहरूको प्रतिक्रिया कस्तो पाउनुहुन्छ?
नाइटिङ्गेलका विद्यार्थीहरू विभिन्न क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका छन्। उनीहरूले नाइटिङ्गेलमा पढेको अनुभवप्रति खुशी व्यक्त गर्ने गरेका छन्। विशेषगरी यहाँको पारिवारिक वातावरण, शिक्षकहरूको सहयोग, अनुशासन र विद्यार्थीप्रतिको हेरचाहप्रति उनीहरू सकारात्मक छन्। हामी विद्यार्थीलाई केवल विद्यार्थीका रूपमा होइन, भविष्यका जिम्मेवार नागरिकका रूपमा हेर्छौँ। त्यसैले उनीहरूलाई पढाइसँगै संस्कार, अनुशासन र जीवनका मूल्यहरू पनि सिकाउने प्रयास गर्छौँ। यही कारण विद्यार्थीहरू नाइटिङ्गेलप्रति कृतज्ञ हुन्छन्।

अभिभावकको भूमिका कति महत्वपूर्ण हुन्छ?
विद्यार्थीको राम्रो नतिजा आउनमा अभिभावकको पनि विशेष भूमिका हुन्छ। अभिभावकले छोराछोरीलाई सही वातावरण, समय, प्रेरणा र भावनात्मक सहयोग दिनुपर्छ। कलेज छनोट गर्दा पनि अभिभावकले बच्चाको रुचि, क्षमता र भविष्यको लक्ष्यलाई बुझेर निर्णय गर्न सहयोग गर्नुपर्छ। अभिभावकले केवल बाहिरी प्रचार वा अरूले भनेको आधारमा निर्णय गर्नु हुँदैन। शिक्षालयको वातावरण, शिक्षकको पहुँच, विद्यार्थीको निगरानी, नतिजा, अनुशासन, संस्कार र भविष्य तयारी सबै पक्ष हेर्नुपर्छ। विद्यार्थी, अभिभावक र शिक्षालयबीच सहकार्य भयो भने मात्र विद्यार्थीको वास्तविक विकास सम्भव हुन्छ।
एसईईपछि विद्यार्थीले कलेज छनोट गर्दा के गल्ती गर्नु हुँदैन?
विद्यार्थीहरूले साथीको लहैलहैमा लागेर प्लस टु छनोट गर्नु हुँदैन। साथीले जुन कलेज पढ्छ, म पनि त्यही पढ्छु भनेर निर्णय गर्नु ठीक होइन। हरेक विद्यार्थीको रुचि, क्षमता, लक्ष्य र आवश्यकता फरक हुन्छ। कलेज छनोट गर्दा आफ्नो अभिभावक, शिक्षक र अनुभवी व्यक्तिहरूसँग सल्लाह गर्नुपर्छ। कलेजको वातावरण बुझ्नुपर्छ। आफूलाई त्यो स्थानमा पढ्न सहज हुन्छ कि हुँदैन, त्यहाँ आफ्नो भविष्य निर्माण गर्न सहयोग मिल्छ कि मिल्दैन भन्ने कुरा विचार गर्नुपर्छ। कक्षा ११ र १२ विद्यार्थीको भविष्यसँग जोडिएको महत्वपूर्ण समय भएकाले निर्णय सोचेर, बुझेर र जिम्मेवारीपूर्वक गर्नुपर्छ।

अन्त्यमा विद्यार्थी र अभिभावकलाई के भन्न चाहनुहुन्छ?
अन्त्यमा, देशभरका एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई फेरि पनि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। तपाईंहरू आफ्नो जीवनको नयाँ यात्रामा हुनुहुन्छ। सही प्लस टु छनोट गर्नुहोस्, आफ्नो रुचि र लक्ष्य बुझ्नुहोस्, अभिभावक र शिक्षकसँग सल्लाह गर्नुहोस् र भविष्यका लागि सही निर्णय लिनुहोस्। अभिभावकज्यूहरूलाई पनि धन्यवाद दिन चाहन्छु। विद्यार्थीहरूको राम्रो नतिजामा अभिभावकहरूको ठूलो भूमिका रहन्छ। नाइटिङ्गेल प्लस टुमा सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत छ। यहाँ आएपछि विद्यार्थीहरूले पश्चाताप गर्नुपर्दैन भन्ने हाम्रो विश्वास छ। हामी विद्यार्थीलाई राम्रो नतिजाका लागि मात्र होइन, असल, संस्कारी र जिम्मेवार नागरिक बनाउन चाहन्छौँ। हाम्रो संस्कृतिलाई बिर्सनु हुँदैन। देशलाई माया गर्ने, देशमै बसेर केही गर्न चाहने, जिम्मेवार र सक्षम युवा आजको आवश्यकता हो। नाइटिङ्गेलले त्यस्तै विद्यार्थी निर्माण गर्ने प्रयास गर्दै आएको छ।