काठमाडौँ, २१ जेठ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री पोखरेलले अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको बताउनुभएको हो।
उहाँका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा उक्त रकम फिर्ता भएको हो। थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उहाँले उल्लेख गर्नुभएको छ।
मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर भएको बताउनुभएको छ। तर सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र नभई शैक्षिक र नैतिक क्षतिसमेत पुर्याएको उहाँको भनाइ छ।
उहाँले यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको र विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेपछि छानबिन तथा कानुनी प्रक्रियाका आधारमा रकम फिर्ता हुने क्रम तीव्र बनेको बताउनुभयो।
मन्त्री पोखरेलका अनुसार यो उपलब्धि केवल रकम असुलीको विषय मात्र नभई सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम हो।
उहाँले शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ गर्दै सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ।