काठमाडौँ । दर्ता प्रक्रिया पूरा नगरी शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीहरूविरुद्ध सरकारले कडा कदम चालेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णयपछि प्रहरीले त्यस्ता शैक्षिक परामर्श संस्थामाथि अनुसन्धान तीव्र बनाएको हो।
यसअघि विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ १ गते काठमाडौं उपत्यकाका १९५ वटा कन्सल्टेन्सी तथा शैक्षिक परामर्शदाता कम्पनीमा एकसाथ छापा मारेको थियो। उक्त अभियानमा ६८ जना कन्सल्टेन्सी सञ्चालक तथा व्यवस्थापक पक्राउ परेका थिए।
पक्राउ परेकामध्ये दर्ता प्रक्रियामा रहेका १५ वटा कन्सल्टेन्सीका सञ्चालक तथा व्यवस्थापकलाई प्रहरीले हाजिर जमानीमा रिहा गर्दै थप निर्णयका लागि शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो।
मन्त्रिस्तरीय निर्णयबाट दर्ता प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरेका संस्थामाथि कानुनी कारबाही अघि बढाउने निर्णय भएपछि ती १५ वटा कन्सल्टेन्सीसँग सम्बन्धित १८ जनालाई बुधबार पुनः पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकामध्ये कन्सल्टेन्सीका सञ्चालक र व्यवस्थापक रहेका छन्। उनीहरूलाई शिक्षा ऐनसम्बन्धी कसुरमा अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उनले जानकारी दिए।
प्रहरीले दर्ता प्रक्रियामा रहेका अन्य कन्सल्टेन्सीहरूको गतिविधिमाथि पनि अनुसन्धान जारी राखेको जनाएको छ।