भक्तपुर / ३२ असार – विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, वित्तीय साक्षरता र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले एभरेस्ट इङ्लिस स्कुल र फ्युचर एड्भान्टेजबीच औपचारिक सहकार्य सुरु भएको छ।
फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवाल र एभरेस्ट इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समारोहमा फ्युचर एड्भान्टेजका ब्रान्ड एम्बेसडर तथा गायक निर्णय श्रेष्ठ ‘एनएसके’ र प्रेरणादायी वक्ता रमन भट्टराईको समेत उपस्थिति थियो। सम्झौताअनुसार विद्यालयका विद्यार्थीले सार्वजनिक वक्तृत्व, सञ्चार कला, नेतृत्व विकास, समूहकार्य, समस्या समाधान, उद्यमशील सोच, वित्तीय साक्षरता, अनुशासन र जिम्मेवारी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
फ्युचर एड्भान्टेज विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन, करिअर र भविष्यका अवसरका लागि तयार गर्ने अनुभवमा आधारित संरचित विद्यार्थी रूपान्तरण कार्यक्रम हो। यसले सीप, सोच, चरित्र र अनुभवलाई विद्यार्थी विकासका चार प्रमुख आधारका रूपमा अघि सारेको छ। कार्यक्रमको सिकाइ पद्धति ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने अभ्यासमा आधारित छ। विद्यार्थीलाई गतिविधि, चुनौती र वास्तविक जीवनसँग सम्बन्धित परिस्थितिमा सहभागी गराउँदै बोल्न, प्रस्तुति दिन, समूहमा सहकार्य गर्न, निर्णय लिन, नेतृत्व गर्न तथा आफ्ना अनुभवबाट सिक्न प्रेरित गरिन्छ।
फ्युचर एड्भान्टेज अप्टिमेज ग्लोबल, अष्ट्रेलियाद्वारा सञ्चालित कार्यक्रम हो। अप्टिमेज ग्लोबलले नेपाललगायत विभिन्न देशमा फ्युचर एड्भान्टेजमार्फत विद्यार्थीलाई आत्मविश्वासी, सक्षम, जिम्मेवार र भविष्यका लागि तयार बनाउने अभियान अघि बढाएको जनाएको छ। एभरेस्ट इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले विद्यालय शिक्षाले विद्यार्थीलाई ज्ञान प्रदान गर्नुका साथै जीवनमा आइपर्ने चुनौती सामना गर्न सक्ने आत्मविश्वास, अनुशासन र निर्णय क्षमता विकास गर्नुपर्ने बताए। विद्यार्थीलाई आफ्नो प्रतिभा पहिचान गर्न, जिम्मेवारी लिन र समाजमा सकारात्मक योगदान दिन सक्षम बनाउनु आजको शिक्षाको महत्वपूर्ण उद्देश्य भएको उनको भनाइ छ। उनका अनुसार फ्युचर एड्भान्टेजसँगको सहकार्यले विद्यार्थीको अभिव्यक्ति क्षमता, नेतृत्व, सहकार्य, सिर्जनशील सोच र व्यावहारिक दक्षतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउनेछ।
फ्युचर एड्भान्टेजका संस्थापक सफ्रिन सिलवालले एभरेस्ट इङ्लिस स्कुलसँगको साझेदारी विद्यार्थीलाई जीवन र भविष्यका अवसरका लागि सक्षम बनाउने अभियानको महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विद्यालयमा सक्रिय सहभागिता, नेतृत्व अभ्यास, जिम्मेवारी र अनुभवमा आधारित सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।