काठमाडौं, साउन ९ — विभिन्न शैक्षिक तथा स्वास्थ्यसम्बन्धी माग राख्दै धनगढीमा तीन दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।
सेती प्रादेशिक अस्पतालले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार डा. केसीमा कमजोरीका कारण बोल्न तथा हिँडडुल गर्न केही असहजता देखिन थालेको जनाएको छ। अस्पतालका अनुसार डा. केसीले अनशनलाई निरन्तरता दिँदै सुगरको मात्रा कायम राख्न आवश्यक स्लाइन तथा औषधि लिन अस्वीकार गरिरहेका छन्।
अस्पतालले चार सदस्यीय चिकित्सक टोली गठन गरी डा. केसीको २४सै घण्टा सघन निगरानी र उपचार गरिरहेको जनाएको छ। स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार बिहान उनलाई धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको हो।
यसैबीच, डा. केसीका मागका सम्बन्धमा संवाद अघि बढाउन सरकारले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेललाई धनगढी पठाएको छ। सरकार र डा. केसी पक्षबीच वार्तामार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको जनाइएको छ।
डा. केसीले बिहीबारदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै धनगढीबाट आमरण अनशन सुरु गरेका हुन्।