प्रश्नपत्र चुहावट प्रकरणलाई शिक्षा सुधारको अवसरका रूपमा लिएका छौँ : मन्त्री सस्मित पोखरेल

प्रश्नपत्र चुहावट प्रकरणलाई शिक्षा सुधारको अवसरका रूपमा लिएका छौँ : मन्त्री सस्मित पोखरेल

काठमाडौं, साउन १० — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र चुहावट प्रकरणलाई शिक्षा प्रणाली सुधार गर्ने अवसरका रूपमा लिएको बताएका छन्। उनले इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय हुन नदिन र परीक्षा प्रणालीप्रतिको सार्वजनिक विश्वासलाई थप मजबुत बनाउन मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले गत शुक्रबार एमबिएस प्रथम सत्रको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरी तत्काल अनुसन्धान र आवश्यक कारबाही अघि बढाइएको बताए।

उनका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग तत्काल समन्वय गरिएको थियो। त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई आवश्यक अनुसन्धान अघि बढाउन निर्देशन दिइएको थियो। डिजिटल प्रमाण र ह्वाट्सएप समूहहरूको विश्लेषणपछि घटनामा संलग्न मुख्य आरोपितलाई २४ घण्टा नबित्दै नियन्त्रणमा लिन सफल भएको मन्त्री पोखरेलले उल्लेख गरेका छन्।

मन्त्री पोखरेलले प्रश्नपत्र चुहावटलाई सामान्य घटना मान्न नसकिने उल्लेख गर्दै यसले परीक्षा प्रणाली, शैक्षिक संस्थाको विश्वसनीयता र हजारौँ इमानदार विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने बताएका छन्। उनले घटनामा संलग्न जो–कोहीमाथि कानुनबमोजिम निष्पक्ष कारबाही हुने स्पष्ट पारेका छन्।

यस घटनाले केही व्यक्तिको कमजोरी मात्र नभई परीक्षा प्रणालीभित्र रहेका सम्भावित कमजोरीहरू पुनरावलोकन गर्ने अवसर पनि प्रदान गरेको मन्त्री पोखरेलको भनाइ छ। प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन प्रक्रिया तथा आन्तरिक सुरक्षा प्रणालीका सम्भावित कमजोरीहरूको समेत विस्तृत अध्ययन गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

यसैबीच, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डीन कार्यालयले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई प्रश्नपत्र चुहावटको कारण, सुरक्षा प्रणालीका कमजोरी तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुधारका उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

मन्त्री पोखरेलले परीक्षा प्रणालीप्रति आम नागरिकको विश्वास कायम राख्नु राज्यको दायित्व भएको उल्लेख गर्दै मन्त्रालय कानुनी तथा संस्थागत सुधारका लागि आवश्यक सबै कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन्। विगतमा यस्ता घटनाको अनुसन्धान लामो समयसम्म लम्बिने र दोषी उम्किने प्रवृत्ति रहेको उल्लेख गर्दै अब त्यस्तो संस्कृतिको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।

"हामीले यस घटनालाई केवल आपराधिक घटनाका रूपमा मात्र होइन, हाम्रो परीक्षा प्रणालीलाई अझ पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अवसरका रूपमा पनि लिएका छौँ," मन्त्री पोखरेलले फेसबुक स्टाटसमार्फत उल्लेख गरेका छन्। "इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय हुन नदिन तथा शिक्षा प्रणालीप्रति जनविश्वास अझ सुदृढ बनाउन मन्त्रालयले आवश्यक सबै कदम चाल्नेछ।"