“शिक्षा केवल सर्टिफिकेट होइन, जीवनसँग भिड्न सक्ने क्षमता हो” : हरि सिंह केसी

“शिक्षा केवल सर्टिफिकेट होइन, जीवनसँग भिड्न सक्ने क्षमता हो” : हरि सिंह केसी

शिक्षालाई केवल कक्षाकोठा, पाठ्यपुस्तक वा प्रमाणपत्रमा सीमित गरेर हेर्न मिल्दैन। शिक्षा जीवनसँग कसरी जोडिन्छ, समाजसँग कसरी सहकार्य गर्न सिकाउँछ, र व्यक्तिलाई व्यवहारिक रूपमा कसरी सक्षम बनाउँछ भन्ने प्रश्न आज झन् महत्वपूर्ण बनेको छ। यही सन्दर्भमा साउथवेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरि सिंह केसीसँग शिक्षा, जीवनदृष्टि, युवापुस्ता, राष्ट्रप्रतिको जिम्मेवारी, रोजगारी, उद्यमशीलता र नेपालमै सम्भावनाबारे गरिएको विशेष कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ।

तपाईंको दृष्टिमा शिक्षा भनेको वास्तवमा के हो ?

हरि सिंह केसी: मेरो बुझाइमा शिक्षा भनेको केवल किताब पढ्ने, परीक्षा पास गर्ने वा सर्टिफिकेट लिने कुरा मात्र होइन। शिक्षालाई जीवनसँग कसरी जोड्न सकिन्छ, कसरी गरीखान सकिन्छ, समाजसँग कसरी जोडिन सकिन्छ, समाजसँग कसरी सहकार्य गरेर काम गर्न सकिन्छ भन्ने सिकाउने प्रक्रिया नै वास्तविक शिक्षा हो। शिक्षित हुनु मात्रै पर्याप्त हुँदैन, दीक्षित पनि हुनुपर्छ। किनकि सफलताको मापन केवल सर्टिफिकेटले हुँदैन। शिक्षा भएर पनि मानिस असफल हुन सक्छ, र औपचारिक शिक्षा कम भएर पनि कोही अत्यन्त सफल हुन सक्छ। अन्ततः व्यक्तिले हरेक दिन आफूलाई व्यवहारिक रूपमा कसरी अगाडि बढाउँछ, त्यसैले उसलाई गाइड गर्छ। मेरो विचारमा जीवनको परीक्षासँग भिड्न सक्ने र त्यसको सामना गर्न सक्ने व्यक्ति नै साँचो अर्थमा शिक्षित हो।

“शिक्षा भनेको केवल प्रमाणपत्र होइन, जीवनको परीक्षा दिन र त्यससँग आत्मविश्वासका साथ भिड्न सक्ने क्षमता हो।” - हरि सिंह केसी

तपाईंको जीवनमा शिक्षाले कस्तो प्रभाव पारेको छ ?

हरि सिंह केसी: हरेक चरणमा शिक्षाले मलाई प्रभाव पारेको छ। तर सबैभन्दा बढी सम्झन लायक कुरा भनेको मेरो विद्यालय शिक्षा नै हो। म धादिङ जिल्ला, फूलखर्क गाविस–५, दाङसिङ्गमा किसान परिवारमा जन्मिएको हुँ। मेरो परिवार, विशेषगरी बुबा-आमा र हजुरबा–हजुरआमाले मलाई “पढ्नैपर्छ, नपढीकन हुँदैन” भन्ने सोच दिनुभयो। उहाँहरूले देखाउनुभएको बाटो, सल्लाह र प्रेरणाले मेरो जीवनको दिशा तय गरिदियो। त्यसैले मेरो जीवनमा शिक्षासँग जोडिएको सबैभन्दा ठूलो र अविस्मरणीय स्मृति भनेकै मेरो बाल्यकालको विद्यालय शिक्षा हो।

विद्यालय जीवनका शिक्षकहरूमध्ये कसको प्रभाव तपाईंमा सबैभन्दा बढी रह्यो ?

हरि सिंह केसी: मेरो विद्यालय जीवनमा सबै शिक्षकहरू राम्रो हुनुहुन्थ्यो। सबैले साथ दिनुभयो, सहयोग गर्नुभयो, अगाडि बढ्न प्रेरित गर्नुभयो। उहाँहरूको मुख्य सल्लाह भनेको एसएलसी राम्रोसँग पास गर्ने, उच्च शिक्षाका लागि काठमाडौं जाने, र भविष्य निर्माणमा गम्भीर बन्ने भन्ने नै थियो। तर विशेष रूपमा सम्झनुपर्दा, एसएलसीको समयका एक शिक्षक—खहरेमा हुनुहुन्थ्यो, राय सर—उहाँले मलाई धेरै प्रेरणा दिनुभयो। रोचक कुरा के भने उहाँले मलाई प्रत्यक्ष पढाउनुभएको पनि थिएन। तर परीक्षा बेला उहाँले मलाई माया गर्दै “राम्रो गर्नुपर्छ है, तपाईं स्कुलको सेकेन्ड ब्वाइ हुनुहुन्छ, अगाडि बढ्नुपर्छ” भनेर हौसला दिनुभयो। त्यो सल्लाह, त्यो माया र त्यो भरोसा मेरो जीवनको अविस्मरणीय क्षण बनेर बसेको छ।

तपाईंको विद्यालय जीवनमा प्रेरणाको मुख्य स्रोत को हुनुहुन्थ्यो ?

हरि सिंह केसी: मेरो प्रेरणाको मुख्य स्रोत मेरो परिवार नै हो। विशेषगरी मेरा बुबा-आमा र हजुरबा। उहाँहरूले दिएको संस्कार, पढाइप्रतिको दृष्टिकोण र संघर्षबीच पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले मलाई धेरै बलियो बनायो।

जीवनबाट तपाईंले सबैभन्दा ठूलो के सिक्नुभयो ?

हरि सिंह केसी: मलाई लाग्छ, जीवनको सबैभन्दा ठूलो शिक्षक भनेको भोगाइ हो। कुरा सुन्न सजिलो हुन्छ, सल्लाह दिन सजिलो हुन्छ, तर भोगाइबाट सिक्नु सबैभन्दा कठिन हुन्छ। तर त्यही कठिनाइले सबैभन्दा ठूलो पाठ सिकाउँछ। जीवनले दिएको अनुभव, संघर्ष, चुनौती र वास्तविक परिस्थितिबाट मान्छेले धेरै कुरा सिक्छ। त्यसैले भोगाइ नै सबैभन्दा ठूलो विश्वविद्यालय हो भन्ने मलाई लाग्छ।

अहिलेको युवापुस्तालाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?

हरि सिंह केसी: अहिलेको युवापुस्ताले सबैभन्दा पहिले राष्ट्रप्रतिको जिम्मेवारी बुझ्नुपर्छ। “मेरो देशप्रति मेरो भूमिका के हो ?”, “म राष्ट्रलाई कसरी सहयोग गर्न सक्छु ?”, “म को हुँ, के गर्नुपर्छ, र कसरी अगाडि बढ्नुपर्छ ?” भन्ने प्रश्नमा फोकस गर्नुपर्छ। जहाँ रहे पनि, जुन देशमा रहे पनि, युवापुस्ता आफ्नो देशको प्रतिनिधि बन्न सक्नुपर्छ। विदेशमा रहेर सिकेको ज्ञान, सीप, प्रविधि र अनुभवलाई आफ्नो देशमा कसरी ल्याउने भन्ने सोच हुनुपर्छ। केवल बाहिरिने मानसिकता होइन, देशमै बसेर समस्यासँग जुध्ने, समाधान खोज्ने, र सही दिशामा लैजाने हिम्मत पनि हुनुपर्छ। राष्ट्रमा सुधार ल्याउन, सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सही परिवर्तन ल्याउन सबैभन्दा ठूलो भूमिका युवापुस्ताकै हुन्छ। यो केवल अवसर होइन, जिम्मेवारी पनि हो।

तपाईंको विचारमा, हामीले १ देखि १२ सम्मको शिक्षामा के कुरा पर्याप्त रूपमा देखाउन सकेनौँ ?

हरि सिंह केसी: मलाई लाग्छ, हामीले युवालाई नेपालमै पनि भविष्य छ भन्ने कुरा पर्याप्त रूपमा देखाउन सकेनौँ। नेपालमै रोजगारी छ, नेपालमै उद्यमशीलतामा अघि बढ्न सकिन्छ, नेपालमै गरेर खान सकिन्छ भन्ने विश्वास अझ बलियो रूपमा दिन आवश्यक थियो। अर्को कुरा, अहिलेको युवापुस्ताले छिटो परिणाम खोज्छ। उनीहरू छिटो सेवा चाहन्छन्, स्वतन्त्रता चाहन्छन्, उद्यमशीलताको सोच चाहन्छन्, रोजगारी चाहन्छन्। उनीहरूलाई बाँधिने वातावरण होइन, शिक्षित भएर, स्वस्थ भएर, गरीखाने अवसर पाउँदै अघि बढ्ने स्पष्ट बाटो चाहिएको छ। राज्यले यस्तो वातावरण दिनुपर्छ, जसले युवामा “पढौँ, सिकौँ, यहीँ केही गरौँ” भन्ने भावना जगाओस्। हामीसँग सम्भावना नभएको होइन, छ; तर ती सम्भावनालाई अझ स्पष्ट रूपमा देखाउन र बुझाउन आवश्यक छ।

युवालाई नेपालमै रोक्न के–कस्ता नीतिगत कदम आवश्यक छन् ?

हरि सिंह केसी:मलाई लाग्छ, “पढ्दै कमाउँदै” जाने वातावरण आवश्यक छ। उच्च शिक्षा पढ्न चाहने युवाका लागि विद्यार्थी कर्जा व्यवस्थाको आवश्यकता छ। पढिसकेपछि रोजगारीको न्यूनतम सुनिश्चितता हुनुपर्ने आधार चाहिन्छ। यदि कसैले पढाइपछि उद्यमशीलतामा जान चाह्यो भने उसलाई त्यसका लागि आवश्यक वातावरण उपलब्ध हुनुपर्छ। यदि यी कुराहरू गर्न सक्यौँ भने अहिले जुन अवस्थामा युवाले “नेपालको विश्वविद्यालय” र “विमानस्थल” बीच विमानस्थल रोजिरहेका छन्, त्यो प्रवृत्ति बदलिन सक्छ। उनीहरूले बाहिरिनुभन्दा पहिले नेपालमै सम्भावना देख्न थाल्नेछन्। मेरो विश्वास छ—सही वातावरण र सही नीति भए, धेरै युवा नेपालमै भविष्य खोज्न तयार छन्।

अन्त्यमा, शिक्षा र युवापुस्ताबारे तपाईंको मूल सन्देश के हो ?

हरि सिंह केसी: म यही भन्न चाहन्छु—शिक्षालाई केवल प्रमाणपत्रका रूपमा नहेर्नुहोस्। शिक्षाले तपाईंलाई जीवनसँग जोडोस्, समाजसँग काम गर्न सिकाओस्, समस्यासँग भिड्न सक्ने बनाओस् र आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरोस्। त्यही शिक्षा नै अर्थपूर्ण शिक्षा हो। युवापुस्ताले आफ्नो देश, आफ्नो जिम्मेवारी र आफ्नो सम्भावनालाई गम्भीर रूपमा लिनुपर्छ। राष्ट्र निर्माणमा उनीहरूको भूमिका ठूलो छ। यदि सही सोच, सही मार्गदर्शन र सही अवसर मिल्यो भने अहिलेको पुस्ताले नेपालमा धेरै ठूलो परिवर्तन ल्याउन सक्छ।

(हरि सिंह केसी साउथवेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हुनुहुन्छ। शिक्षा, युवापुस्ता, व्यवहारिक सिकाइ, राष्ट्रप्रतिको जिम्मेवारी र उद्यमशील सोचबारे स्पष्ट धारणा राख्ने उहाँ शिक्षा क्षेत्रसँग लामो समयदेखि जोडिनुभएको छ। शिक्षालाई जीवन, समाज र भविष्यसँग जोडेर हेर्नुपर्ने उहाँको दृष्टिकोण विशेष रूपमा उल्लेखनीय मानिन्छ।)