इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स वैशाख १ देखि बन्द हुने

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स वैशाख १ देखि बन्द हुने

काठमाडौँ  । सरकारले विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ता कार्यक्रमहरू तत्काल रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि नै लक्षित गरी सञ्चालन हुने यस्ता कक्षाहरूले विद्यार्थीमा अनावश्यक दबाब सिर्जना गर्ने मात्र होइन, शिक्षामा समतामूलक पहुँचमा समेत असर पुर्‍याउने गरेका छन्। साथै, यस्ता कार्यक्रमले अभिभावक र विद्यार्थीमाथि अतिरिक्त आर्थिक बोझ पनि थप्ने गरेको निष्कर्ष मन्त्रालयले निकालेको छ।

यस सम्बन्धमा मन्त्रीस्तरबाट चैत १३ गते नै निर्णय भइसकेको र सोहीअनुसार कार्यान्वयन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाका अनुसार अब कुनै पनि शैक्षिक संस्था वा प्रशिक्षण केन्द्रले यस्ता कार्यक्रम सञ्चालन गर्न पाउने छैनन्।

मन्त्रालयले वैशाख १ देखि यस्ता कक्षाहरू पूर्ण रूपमा बन्द भएको सुनिश्चित गर्न अनुगमन व्यवस्था पनि कडाइ गर्ने जनाएको छ। यदि कुनै संस्था उक्त निर्णयविपरीत सञ्चालनमा रहेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

यसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आवश्यक निगरानी तथा कारबाहीका लागि निर्देशन दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।

शिक्षा क्षेत्रमा बढ्दो व्यावसायीकरण, असमान पहुँच र विद्यार्थीमाथि पर्ने मानसिक तथा आर्थिक दबाब न्यूनीकरण गर्ने उद्देश्यले सरकारको यो निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।