काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क तइ योङले शिष्टाचार भेट गर्नुभएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र दक्षिण कोरियाबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, विकास सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा विशेषगरी शिक्षा, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, मानव संसाधन विकास र ज्ञान तथा प्रविधि आदानप्रदानका सम्भावनाबारे विस्तृत कुराकानी भएको थियो।

त्यसैगरी, नेपाल सरकारका प्राथमिकताका क्षेत्र तथा ती क्षेत्रमा दक्षिण कोरियासँग गर्न सकिने सहकार्यका अवसरबारे पनि विचार आदानप्रदान भएको जनाइएको छ।
मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षाको विकास तथा दक्ष जनशक्ति उत्पादनमा दक्षिण कोरियाको अनुभव र सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो।
राजदूत पार्कले नेपाल र दक्षिण कोरियाबीचको मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा, प्रविधि तथा विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न दक्षिण कोरिया सकारात्मक रहेको बताउनुभएको थियो।